आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा आफ्नो अवस्था मजबुत रहेको निष्कर्षमा पुगेको छ। एमालेका उम्मेदवार रूपेश कुमार पाण्डेले क्षेत्रभरि पार्टीप्रति बढ्दो आकर्षण र जनविश्वास देखिएको बताउँदै उल्लेखनीय मतान्तरसहित विजय हासिल हुने दाबी गरेका छन्।
मधेस प्रदेश कमिटीद्वारा जनकपुरमा आयोजित उम्मेदवार परिचय तथा शुभकामना कार्यक्रममा बोल्दै पाण्डेले पर्सा–३ मा पार्टी संगठन व्यवस्थित, कार्यकर्ता सक्रिय र जनतासँगको सम्बन्ध थप सुदृढ बन्दै गएको बताए। उनले यही आधारमा निर्वाचन परिणाम एमालेको पक्षमा आउने विश्वास व्यक्त गरे।
पाण्डेले निर्वाचित भएपछि पर्सा–३ लाई विकासको उदाहरणीय क्षेत्रका रूपमा अघि बढाउने प्रतिबद्धता जनाउँदै शिक्षा र स्वास्थ्य सेवाको पहुँच विस्तार, स्थानीय रोजगारी सिर्जना, आधुनिक कृषिप्रणालीको विकास तथा आधारभूत पूर्वाधार सुदृढीकरणलाई मुख्य एजेन्डा बनाइने स्पष्ट पारे।
उनले विगतका अधुरा योजनाहरू, बेरोजगारी र अस्थिर राजनीतिक अवस्थाबाट नागरिकहरू निराश बनेको उल्लेख गर्दै यसपटक स्थायित्व र सुशासनको पक्षमा मत आउने बताए। “अब जनताले भाषण होइन, कामको परिणाम खोजिरहेका छन्,” उनको भनाइ थियो।
पर्सा–३ मा पाण्डेको निरन्तर घरदैलो कार्यक्रम, स्थानीय तहमा जनसहभागिता र युवा, महिला तथा अभिभावक वर्गको समर्थन बढ्दै जानुले एमालेको चुनावी अभियान थप प्रभावकारी बन्दै गएको देखिएको छ।
समग्रमा, पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा एमालेले देखाएको तयारी, उम्मेदवारको सक्रियता र जनसमर्थनले आगामी प्रतिनिधिसभा निर्वाचनमा पार्टीलाई सकारात्मक नतिजातर्फ डो¥याउने संकेत देखिएको छ।