वीरगंज, पर्सा — वीरगंजस्थित यातायात व्यवस्था कार्यालयका मोटरसाइकल फाँटका अधिकृत अविनाश गुप्तामाथि व्यापक घुस प्रकरणमा संलग्न रहेको आरोप लागेको छ। २०७६ सालदेखि वीरगंजमा कार्यरत रहेका गुप्ताको सरुवा गत वर्ष सर्लाहीको मलंगवा कार्यालयमा भए पनि, उनले मन्त्रालयमा पहुँच पु¥याई २०८१ असोजमा पुनः काज सरुवा गराई वीरगंज फर्किएका थिए।
रौतहट जिल्लाका स्थायी बासिन्दा गुप्ताले मोटरसाइकल सम्बन्धी सेवा—जस्तै दर्ता, नामसारी, नविकरण आदि—का कामहरूमा सेवा लिन चाहने नागरिकसँग बिचौलियामार्फत निश्चित रकम नलिई कुनै प्रक्रिया अघि नबढाउने गरेको गुनासो व्यापक छ। स्थानीय स्रोतहरूका अनुसार उनले आफ्ना नातागोता र नजिकका आफन्तहरूको नाममा करोडौंको सम्पत्ति जोडिसकेको आशंका गरिएको छ।
गुप्ताको घुस असुली शैली पनि निकै फरक र योजनाबद्ध देखिएको छ। उनले बिचौलिया वा लेखनदासहरूसँग संक्षिप्त संकेत भाषामा “हा” (हात्ती–रु. १,०००) र “बा” (बाघ–रु. ५००) जस्ता कोड शब्द प्रयोग गरी घुसको दर तय गर्ने गरेको खुलासा भएको छ।
उनीमाथि दैनिक रु. २० हजारदेखि ५० हजारसम्म घुस उठाउने आरोप लागेको छ। गाडीधनीको उपस्थितिबिना समेत ब्लुबुकको प्रतिलिपि दिने, र पहिला नामसारी भएका फाइलहरूमा गाडीधनीहरू पुनः आएपछि मोटो रकम लिएर सो फाइल सदर गरिदिनेजस्ता अनियमित कार्यमा समेत उनको संलग्नता रहेको बताइएको छ।
यद्यपि गुप्ता कम्प्युटर अधिकृत पदमा कार्यरत भए पनि, कार्यालय प्रमुखले कम्प्युटरसम्बन्धी जिम्मेवारी योग्य र करारमा नियुक्त कर्मचारीलाई नदिई गुप्तालाई सिधै मोटरसाइकल फाँटमा राखेको जनाइएको छ।
यो सम्पूर्ण घटनाले वीरगंज यातायात कार्यालयभित्र गहिरो भ्रष्टाचारको जालो, बिचौलियाको संलग्नता र प्रशासकीय कमजोरीको पर्दाफास गरेको छ। यथाशीघ्र छानबिन र कारबाही नभएमा यसले सार्वजनिक सेवाप्रति नागरिकको भरोसा धरापमा पर्ने देखिन्छ।