वीरगञ्ज । नेकपा एमाले पर्सा जिल्लाको पहलमा सम्पन्न बृहत् कार्यकर्ता भेलाले निर्वाचन क्षेत्र नम्बर–३ मा चुनावी सरगर्मीलाई तीव्र बनाएको छ। भेलामा एमालेका युवा उम्मेदवार रूपेश कुमार पाण्डेको सशक्त उपस्थितिले कार्यकर्ता पंक्तिमा नयाँ जोश, आत्मविश्वास र संगठनात्मक ऊर्जा थपिएको देखिएको छ।
भेलालाई सम्बोधन गर्दै उम्मेदवार पाण्डेले पार्टीविरुद्ध देखिएका चुनौती र गतिविधिलाई एकताबद्ध प्रयासबाट सामना गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले मुलुकलाई राजनीतिक स्थायित्व, सुशासन र दिगो विकासको दिशामा अघि बढाउन एमालेको नेतृत्व अपरिहार्य रहेको बताउँदै आगामी निर्वाचनमा पार्टीका उम्मेदवारलाई निर्णायक मतले विजयी गराउन सबैलाई सक्रिय भूमिकामा जुट्न आह्वान गर्नुभयो।
जिल्ला अध्यक्ष विश्वम्भर शर्माको अध्यक्षतामा तथा एमाले केन्द्रीय कमिटी उपाध्यक्ष एवं पूर्वमन्त्री रामबहादुर थापा ‘बादल’को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा हजारौँ नेता–कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो। भेलाकै क्रममा जसपासहित विभिन्न राजनीतिक दल परित्याग गरी ठूलो संख्यामा नेता तथा कार्यकर्ताहरू एमालेमा समाहित हुनु पर्सा जिल्लामा पार्टीप्रतिको जनआकर्षण थप मजबुत बन्दै गएको संकेतका रूपमा हेरिएको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापा ‘बादल’ले एमालेसँग अनुभवी नेतृत्व र जनउत्तरदायी उम्मेदवारहरू रहेको उल्लेख गर्दै पर्सा–३ मा पार्टीको जित सुनिश्चित हुने विश्वास व्यक्त गर्नुभयो।
पर्सा–३ मा अहिले राजनीतिक धार स्पष्ट बन्दै गएको देखिन्छ। विकास, राष्ट्रिय हित र स्थायित्वको स्पष्ट एजेन्डासहित चुनावी प्रतिस्पर्धामा उत्रिएका रूपेश कुमार पाण्डे जनताबीच भरोसाको केन्द्रका रूपमा स्थापित हुँदै गएका छन्।