तराई–मधेस क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न भयावह खडेरीको प्रभावले जनजीवन संकटमा परेको छ। विशेषगरी पर्सा, बारा र रौतहट जिल्लाहरूमा वर्षौंदेखि पानीको मुख्य स्रोत मानिने अधिकांश चापाकलहरू सुक्दै गएकाले स्थानीय बासिन्दाहरू गम्भीर खानेपानी अभावको सामना गर्न बाध्य भएका छन्। यस्तो संकटपूर्ण अवस्थामा खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादव आज आफ्नो गृहजिल्ला वीरगञ्ज पुगेर समस्या समाधानका लागि स्थलगत निरीक्षण गरेका छन्।
मन्त्री यादवले वीरगञ्ज महानगरपालिकाका विभिन्न प्रभावित वडाहरू, टोलहरू तथा घर–घरमा पुगेर खानेपानीको अवस्थाबारे प्रत्यक्ष जानकारी लिएका छन्। निरीक्षणपछि उनले यो प्राकृतिक विपत्तिका कारण पीडित बनेका नागरिकहरूप्रति गहिरो सहानुभूति व्यक्त गरे। मन्त्री यादवले बारा र पर्सा जिल्लामा २३७ भन्दा बढी स्थानमा डिप बोरिङ सम्पन्न भइसकेको भए पनि पानीको संकट पूर्ण रूपमा समाधान हुन नसकेको स्विकारेका छन्। उनले भने, “तराई मधेससहित वीरगञ्जमा सिर्जित खानेपानी संकट समाधानका लागि हामी सबै तहका सरकारसँग मिलेर तत्काल र दीर्घकालीन उपायहरूमा काम गर्दैछौं।”
मन्त्री यादवले प्रदेश र स्थानीय सरकारसँगै खानेपानी तथा सरसफाइ क्षेत्रमा क्रियाशील सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग आपसी सहकार्य र समन्वय गर्न आग्रह गरे। संकटको समाधान सबै पक्षको एकजुट प्रयासबाट मात्र सम्भव हुने विश्वास व्यक्त गर्दै उनले यस विषयमा कुनै ढिलासुस्ती नगरिनुपर्ने स्पष्ट पारे।
खानेपानीको चरम अभावका कारण दैनिक जीवनयापन कठिन बन्दै गएको जनगुनासोलाई सम्बोधन गर्दै मन्त्री यादवको सक्रियता र निरीक्षणले स्थानीयमा केही आशा जगाएको देखिएको छ। तर दीर्घकालीन समाधानका लागि सरकार र सरोकारवाला निकायबीच तत्काल कार्ययोजना र स्रोत परिचालन आवश्यक देखिएको छ।