आँप खाने सिजन भइसक्यो त ?

मौसमी फलफूल स्वास्थ्यका लागि फाइदाजनक हुन्छ किनभने तिनीहरूमा भिटामिन, खनिज, फाइबर र एन्टिअक्सिडेन्टहरू प्रशस्त पाइन्छ । तिनले रोगप्रतिरोधी क्षमता बढाउँछ, पाचन प्रणाली सुधार गर्छ । साथै मुटु, छाला र समग्र स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ ।

अहिले आँपको मौसम छ । बजारमा विभिन्न प्रजातिका आँप खरिद–विक्री भइरहेका छन् । काठमाडौँमा पनि दैनिक ठूलो मात्रामा आँप भित्रिरहेको छ ।

खास गरी प्राकृतिक रुपमा आँप पाक्ने समय असार महिनाको अन्त्यदेखि साउन-भदौ महिना भए पनि स्थानीय बजारमा भने वैशाख सुरुदेखि नै आँपले बजार कब्जा गरेको देखिन्छ । यस्तोमा अहिले विक्रीका लागि राखिएका यस्ता आँप खानका लागि स्वास्थ्यकर छन् त ?

आँप पकाउन कस्तो केमिकल प्रयोग हुन्छ ?

जेठमा आँपहरू पूर्णरूपमा पोकेका नहुन सक्छन्, किनभने यो सिजनको सुरुवात हो । तर बजारमा त पूर्णरुपमा पाकेका आँपहरू उपलब्ध छन् । यस्तोमा आँप कृत्रिम रुपमा पकाएको हुन सक्ने खाद्य अनुसन्धान अधिकृत उज्ज्वल रायमाझी बताउँछन् ।

भारतका केही ठाउँहरू, जहाँ धेरै गर्मी हुन्छ त्यस्ता ठाउँमा आँप पाक्ने बेला भइसक्यो । नेपालमा भने आँप पाक्ने समय केही सातापछि मात्रै हुने रायमाझीको भनाइ छ ।

‘सामान्यतयाः हामीले खाने फलफूलहरू दुई प्रकारका हुन्छन्’ रायमाझी भन्छन्, ‘एउटा बोटमै पाकेपछि टिप्ने र अर्को काँचैमा टिपेर पकाउने खालको । बजारका लागि टाढा लैजानुपर्ने भएकोले केही फलफूल काँचैमा टिपेर पकाउने गरिन्छ । त्यसमा आँप पनि पर्छ ।’

उनका अनुसार फलफूल पकाउनका लागि इथिलिन नामक हर्मोनको प्रयोग गर्ने गरिन्छ । इथिलिन तोकिएको डोजमा प्रयोग गरियो भने यो मानव स्वास्थ्यका लागि खतरनाक हुँदैन ।

यो एक केमिकल हो । यसलाई विश्वका कुनै पनि प्रयोगशालाले विषादी मानेको छैन । तर यसको प्रयोग पनि निश्चित डोजभन्दा धेरै गरियो वा छिटो पकाउने होडमा धेरै मात्रा राखियो भने फेरि यो आफैँमा घातक हुन सक्ने रायमाझी बताउँछन् ।

साथै बजारमा केही मात्रामा क्याल्सियम कार्बाइड राखेर पकाइएको आँप उपलब्ध हुनसक्छ । त्यसमा भने विशेष ध्यान दिनुपर्छ यसरी पकाइएको आँप स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । त्यसैले बजारबाट आँप किन्दा सावधानी अपनाउन रायमाझीको सुझाव छ ।

उनका अनुसार क्याल्सियम कार्बाइड हालेर पकाइएका फलफूल सजिलै चिन्न सकिन्छ । यदि बोक्राको सबै भाग एकनासले पहेँलो हुने गरी पाकेको छ भने त्यसमा कार्बाइड हालेको हुनसक्छ । किनकि प्राकृतिक रुपमा फलफूल प्रायः सबैतिर एकनासले पाक्दैनन् ।

यस्तो आँप खाँदा के हुन्छ ?

क्याल्सियम कार्बाइडले पकाएको फलफूल खाँदा पेट दुख्ने, बान्ता हुने, पखाला लाग्नेजस्ता सामान्य समस्यादेखि फोक्सो, मुटु, मिर्गौलाको स्वास्थ्यमा समेत घातक असर पर्छ । गर्भवती महिलाले कार्बाइड धेरै सेवन गर्दा गर्भ तुहिने र क्यान्सरसमेत हुने सम्भावना रहेको क्यानेडियन वैज्ञानिकहरूले गरेको एक अध्ययनले देखाएको छ ।

क्याल्सियम कार्बाइडले पानीसँग प्रतिक्रिया गरी एसिटिलिन ग्यास बनाउँछ, जसले गर्दा मस्तिष्कमा अक्सिजनको मात्रामा असन्तुलन हुन जाने इन्टरनल मेडिसिन प्रा. डा. विद्या सागर प्रसाद बताउँछन् ।

मस्तिष्कमा अक्सिजनको मात्राको कमी हुँदा टाउको दुख्ने, आँखा धमिलो देखिने, रिँगटा लाग्ने, बोली लरबराउने, सास फेर्न समस्या हुनेजस्ता असर देखिने प्रसादले जानकारी दिए।

आँप किन्दा के कुरामा ध्यान दिने ?

सकेसम्म खुला ठाउँमा राखिएको आँप किन्नु उपयुक्त हुने पोषणविद् आयुष अधिकारी बताउँछन् । ‘कार्टुनमा राखेको आँपमा यदि इथिलिनको मात्रा बढी छ भने त्यसले असर गर्न सक्छ’ अधिकारी भन्छन्, ‘तर खुला ठाउँमा रहेको आँप किन्दा त्यसले समस्या सिर्जना गर्दैन ।’ आँप किन्दा सकेसम्म काँचो किन्ने र घरमा लगेर पकाएर खान अधिकारीको सुझाव छ ।

रसायन प्रयोग भए नभएको पत्ता लगाउन आँपको सुगन्ध पनि धेरै महत्त्वपूर्ण छ । रसायनको प्रयोगबाट पाकेको आँपको बास्ना निकै कम हुन्छ र कुनैमा आँपमा त बास्ना नै हुँदैन । तर प्राकृतिक रूपमा पाकेको आँपको मिठो बास्ना आउने अधिकारी बताउँछन् ।

सामान्यतया धेरै आँपको आकर्षक रङ हेरेर त्यसको आधारमा आँप किन्ने गर्छन् । तर रङकै आधारमा त्यसमा रसायन प्रयोग भएको छ कि छैन भन्ने कुरा पनि पत्ता लगाउन सकिन्छ ।

आँप प्राकृतिक रूपमा पाकेको छ भने यसको रङ हल्का पहेँलो र हरियो हुन्छ । रसायनले पकाएको आँप भने धेरै गाढा पहेँलो रङको हुने अधिकारीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

ताजा अपडेट

More like this
Related

‘राजनीति सेवा हो’ सन्देशसहित कानुको घरदैलो अभियान अलौंमा सम्पन्न

वीरगञ्ज। पर्सा जिल्लामा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक गतिविधि...

‘नेतृत्व भनेको परिणाम हो’ नारा आफैंमाथि भारी पर्दै अजय चौरसिया

पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा...

बृहत् कार्यकर्ता भेलापछि पर्सा–३ मा एमालेको चुनावी लय, रूपेश पाण्डेप्रति बढ्दो विश्वास

वीरगञ्ज । नेकपा एमाले पर्सा जिल्लाको पहलमा सम्पन्न बृहत्...

बहुदरमाईमा एमालेको अगुवा भेला उत्साहपूर्ण, पर्सा–३ मा रूपेश पाण्डेको पक्षमा जनलहर बलियो

वीरगञ्ज । पर्सा जिल्लाको बहुदरमाई नगरपालिकामा नेकपा एमालेद्वारा आयोजित...