‘इजरायलमा नेपाली सुरक्षित छन्, ९९ प्रतिशतले उद्धार गर्नुपर्दैन भनेका छन्

परराष्ट्रमन्त्री आरुजुले सोधिन् इजरायलको हालखबर तेल अविवमा तनाव छ । नेपालीहरुबारे अप्रिय खबर छैन । हामीले सम्पर्क गरेर उद्धार गर्नुपर्ने भए पनि भन्नुहोला भनेका छौं । तर ९९ प्रतिशत नेपालीहरुले ‘जे पर्छ व्यहोरौंला, उद्धार नगर्नुहोला’ भन्नुभएको छ ।

१ असार, काठमाडौं । राति ९ बजेदेखि तेल अविवमा पहिलो मिसाइल आक्रमण भयो । त्यसपछि राति एक–दुई बजेदेखि बिहान तीन–चार बजेसम्म ठूलो आवाजका साथ आक्रमण चल्यो । अहिले बिहानको ७ बज्दासम्म यहाँको अवस्था ठिकै छ ।

सरकारले नै इमर्जेन्सी सेवामा खटिएकाहरु बाहेक अरुलाई घर बाहिर ननिस्किन भनेर सूचना जारी गरेको छ । त्यसैले आज दूतावासको कार्यालय जानसक्ने अवस्था छैन । हामी दूतावासका कर्मचारीहरु अलग–अलग ठाउँमा सुरक्षित बसिरहेका छौं ।

हामी दूतावासका सबै कर्मचारीहरु सुरक्षित छौं । अरु नेपालीहरुबारे पनि नराम्रो खबर सुन्न परेको छैन । यसको अर्थ सबै नेपालीहरु सुरक्षित नै हुनुहुन्छ भन्ने विश्वास छ ।

एउटा कार्यक्रमका लागि इजरायल आउनुभएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला पनि सुरक्षित हुनुहुन्छ । उहाँ किबुट होटलमा बस्नु भएको छ । मेयर कोइराला र अरु नेपालीहरुलाई मैले बेलाबेलामा फोन गरेर सम्पर्क गरिराखेको छु । ठिकै छ भन्ने खबर पाएको छु ।

अहिले हवाई र समुद्री दुवैतर्फका मार्ग बन्द गरिएको छ । देशको सीमा नाघेर आउ–जाउ गर्नसक्ने अवस्था छैन ।

आज इरानको तर्फबाट इजरायलमा पहिलो आक्रमण हाइफ भन्ने ठाउँमा भयो । यो बन्दरगाह हो । त्यसपछि तेलअविवका अरु तीन ठाउँ– रमादगान, ब्याटयाम र ताम्रा ठन्ने ठाउँमा आक्रमण भए । यी शहर राजधानी तेलअविवका ठूला शहरहरु हुन् । आक्रमण भएको ठाउँ काठमाडौंको सिंहदरबार र क्षेत्रपाटी भनेजत्तिकै दुरीमा छन् ।

परराष्ट्रमन्त्री आरुजुले सोधिन् हालखबर

आज बिहानै नेपाली समय अनुसार करिब ६ बजे परराष्ट्रमन्त्री आरुजु राणा देउवाले पनि मलाई फोन सम्पर्क गरेर हालखबर सोध्नु भएको थियो । मैले हामीहरु र यहाँ रहेका नेपालीहरु अहिलेसम्म सुरक्षित रहेको जानकारी गराएँ । नेपालीहरुको उद्धार गर्नुपर्ने अवस्था आए भन्नुहोला पनि भन्नुभएको छ ।

हामीले सकेसम्म सबै नेपालीसँग सम्पर्क गर्ने कोसिस गरिराख्या छौं । उनीहरुको हालखबर सोधिराखेका छौं । तर प्रत्येक व्यक्तिलाई सम्पर्क गर्न सम्भव होला नहोला । तर सबै नेपालीहरुलाई मेरो विनम्र आग्रह के छ भने इजरायल सरकारका सुरक्षा सम्बन्धी सूचनामा अपडेट हुनुहोला । सरकारले जारी गरेका नियमलाई पालना गरिदिनु होला ।

तपाईंहरु जहाँ हुनुहुन्छ, त्यही ठाउँमा सुरक्षित तरिकाले बस्नु होला । आफूखुसी बाहिर निस्किने, हिँडडुल गर्ने काम नगर्नुहोला । उद्धार गर्नुपर्ने भएमा वा अरु कुनै अप्ठ्यारो अवस्था आइपरेमा हामीलाई सम्पर्क गर्नुहोला ।

आज त दूतावासको कार्यालयसम्म जानसक्ने अवस्था छैन । तर पनि हामी अवस्था खराब हुँदै गएमा कुनै तरिका अपनाएर हामी सम्पर्कका माध्यमहरु सार्वजनिक गर्नेछौं ।

नेपालीहरुले भने– हाम्रो उद्धार नगर्नुहोला

हामीले नेपालीहरुलाई सम्पर्क गरेर उद्धार गर्नुपर्ने भए पनि भन्नुहोला भनेका छौं । तर ९९ प्रतिशत नेपालीहरुले ‘जे पर्छ व्यहोरौंला तर हाम्रो उद्धार नगर्नुहोला’ भन्नुभएको छ ।

यसका दुई कारण छन् । एउटा आकर्षक तलबसहितको काम र अर्को फेरि फर्किएर त्यही काम नपाउने अवस्था ।

इजरायलमा हमासले नेपाली विद्यार्थीहरुमाथि आक्रमण गर्दा नेपाल सरकारले नेपालीहरुको उद्धार गरेको थियो । त्यतिबेला तत्कालीन परराष्ट्रमन्त्री एनपी साउद आफैं आउनु भएको थियो ।

त्यतिबेला विद्यार्थीहरु बाहेक घरमा स्याहारसुसारको काम गर्ने अरु नेपालीहरु पनि थिए । त्यतिबेला नेपालीहरुलाई सुरक्षित उद्धार त गरियो तर इजरायली रोजगारदाताहरु रिसाए । हामीलाई अप्ठ्रो परेको बेला, झन् बढी स्याहार चाहिएको बेला तिमीहरु भाग्ने ? भनेर प्रश्न गरे । नेपाल फर्किएकाहरु फेरि इजरायलमा त्यही काममा आउन पाएनन् । आकर्षक तलब आउन बन्द भयो ।

त्यही भएर अहिले हामीलाई नेपाल सरकारले उद्धार नगरोस् भन्छन् नेपालीहरु । किनभने उनीहरुलाई आकर्षक कमाई गुम्ने डर छ । हुन पनि यहाँ केयरटेकरमा आउने नेपालीहरुले मासिक कम्तिमा पनि दुई–तीन लाख बचाउँछन् । त्यति रकम बचाउनु भनेको त नेपालीहरुलाई ठूलो कुरा हो नि ।

अहिलेको इजरायल र इरानको लडाइँ कति दिनसम्म चल्छ थाहा छैन । इरायली मिडियाहरुले इरानसँग लामो दुरीमा आक्रमण गर्नसक्ने मिसाइल २ हजारको संख्यामा छ । त्यो सकिएपछि लडाइँ पनि रोकिने अनुमान गरेका छन् । तर युद्ध अनुमान गरेजस्तो हुँदैन । देशहरु विभक्त छन् । तिनीहरुले आ–आफ्ना समर्थक देशहरुलाई हतियार सहयोग पनि गर्न सक्छन् । त्यसैले लडाइँ अनुमान गरिएको भन्दा लामो

समयसम्म चल्न पनि सक्छ, नचल्न पनि सक्छ ।

ज्यान सबैभन्दा ठूलो कुरा हो । त्यसैले सबैभन्दा पहिले आफू सुरक्षित हुनुपर्छ । म नेपालीहरु सबैलाई सुरक्षित रुपमा बस्न र कुनै समस्या भए हामीलाई सम्पर्क गर्न फेरि पनि अनुरोध गर्दछु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

ताजा अपडेट

More like this
Related

‘राजनीति सेवा हो’ सन्देशसहित कानुको घरदैलो अभियान अलौंमा सम्पन्न

वीरगञ्ज। पर्सा जिल्लामा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक गतिविधि...

‘नेतृत्व भनेको परिणाम हो’ नारा आफैंमाथि भारी पर्दै अजय चौरसिया

पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा...

बृहत् कार्यकर्ता भेलापछि पर्सा–३ मा एमालेको चुनावी लय, रूपेश पाण्डेप्रति बढ्दो विश्वास

वीरगञ्ज । नेकपा एमाले पर्सा जिल्लाको पहलमा सम्पन्न बृहत्...

बहुदरमाईमा एमालेको अगुवा भेला उत्साहपूर्ण, पर्सा–३ मा रूपेश पाण्डेको पक्षमा जनलहर बलियो

वीरगञ्ज । पर्सा जिल्लाको बहुदरमाई नगरपालिकामा नेकपा एमालेद्वारा आयोजित...